काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको निराशाजनक यात्रा जारी रहेको छ। सोमबार पाकिस्तानको इस्लामावादमा भएको खेलमा उज्वेकिस्तानसँग ३–० सेटले पराजित हुँदै नेपालले प्रतियोगितामा लगातार पाँचौँ हार बेहोरेको हो।नेपालले पहिलो र तेस्रो सेटमा कडा चुनौती दिए पनि निर्णायक क्षणमा खेल आफ्नो पक्षमा पार्न सकेन। खेल २४–२६, २०–२५ र २२–२५ को सेटमा गुमाउँदै नेपालले लिग चरणको अन्तिम खेल पनि हारसँग टुंग्यायो।
लिग चरणका पाँच खेलबाट केवल तीन अंक जोडेको नेपाल तालिकाको पुछारमा सीमित भएको छ। अब नेपालले उपाधिको दौडबाट बाहिरिँदै वरीयता निर्धारण (प्लेअफ) खेल खेल्नेछ। यसअघि नेपाल काजकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो। उता, उज्वेकिस्तानले पाँच खेलबाट ९ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।




































