काठमाडौं । सुनसरीमा भएको धार्मिक तनाव र त्यसक्रममा एक जनाको मृत्यु भएपछि सरकारले उच्चस्तरीय सुरक्षा सक्रियता बढाएको छ। गृहमन्त्री सुधन गुरुङ ले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्।
आइतबार राति भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहता को मृत्यु भएपछि सरकारले घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा निकायसँग लगातार छलफल अघि बढाएको हो। सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका प्रमुखसँग प्रारम्भिक छलफल गरेपछि गृहमन्त्रीले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन्।
बैठकमा सुनसरीको पछिल्लो अवस्थाको समीक्षा, धार्मिक सद्भाव कायम राख्ने उपाय, सम्भावित सुरक्षा चुनौती तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने दीर्घकालीन रणनीतिबारे विस्तृत छलफल हुने गृह मन्त्रालयले जनाएको छ।
यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ। समितिले घटनाको कारण, सुरक्षा निकायको भूमिका र आवश्यक सुधारका विषयमा प्रतिवेदन पेश गर्नेछ।





































