काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको चर्चा चलिरहेका बेला ग्यास उद्योगीहरूले आपूर्ति नघटेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा जगेडा ग्यास नराख्न आग्रह गरेका छन्। उद्योगीका अनुसार कृत्रिम माग बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द ले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गर्दै अहिले पनि दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार समस्या उत्पादन वा आयातमा होइन, एकैपटक धेरै उपभोक्ताले जगेडाका सिलिन्डर भर्न थालेपछि वितरण प्रणालीमा दबाब परेको हो।
उद्योगीहरूले आवश्यकताभन्दा बढी ग्यास घरमा थुपार्ने प्रवृत्तिले बजारमा अभावको मनोविज्ञान सिर्जना गरेको भन्दै संयम अपनाउन आग्रह गरेका छन्। उनका अनुसार उपभोक्ताले सामान्य खपतअनुसार मात्रै ग्यास प्रयोग गरे अहिले देखिएको समस्या स्वतः समाधान हुनेछ।
हाल नेपालभर करिब १ करोड ५० लाख एलपी ग्यास सिलिन्डर प्रचलनमा छन्, जसमध्ये ५० लाख सिलिन्डर डिपोमै मौज्दात रहेको उद्योगीहरूको भनाइ छ। देशभर ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।




































