काठमाडौं । कोशी प्रदेशको सत्ता परिवर्तनको तयारी तीव्र भइरहेका बेला मुख्यमन्त्री हिक्मत कार्की ले पद नछाड्ने स्पष्ट संकेत दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली ले नेतृत्व परिवर्तनको तयारी गरिरहेका बेला कार्कीले भने व्यक्तिगत निर्देशनका आधारमा राजीनामा नदिने र पार्टीको संस्थागत निर्णय भए मात्र स्वीकार गर्ने अडान सार्वजनिक गरेका हुन्।
एमाले र नेकपाबीच भएको नयाँ राजनीतिक सहमतिअनुसार कोशी सरकारको नेतृत्व एमालेमै रहने भए पनि मुख्यमन्त्रीका रूपमा तिलकुमार मेन्याङ्बो लाई अघि सार्ने चर्चा छ। तर कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार बहुमत सांसदको हस्ताक्षरबाट मुख्यमन्त्री बनेको उल्लेख गर्दै आफ्नो राजीनामाले संवैधानिक जटिलता निम्त्याउन सक्ने तर्क गरेका छन्।
निकटस्थहरूसँग कार्कीले “व्यक्तिगत आदेश होइन, सचिवालय वा पार्टीको संस्थागत निर्णय भए मान्छु“ भन्ने अडान दोहोर्याइरहेका छन्। उनले आफू पार्टीको केन्द्रीय सचिवसमेत भएकाले आवश्यक निर्णय सचिवालयबाटै हुनुपर्ने बताएका छन्।
यससँगै कोशी प्रदेशमा नेतृत्व परिवर्तन सहज हुने कि एमालेभित्रै शक्ति संघर्ष चर्किने भन्ने प्रश्न थप पेचिलो बनेको छ। एमाले–नेकपाको नयाँ समीकरणसँग बहुमत सुनिश्चित भए पनि मुख्यमन्त्री परिवर्तनको प्रक्रिया भने अब पार्टीको आन्तरिक निर्णय र संवैधानिक व्यवस्थामै निर्भर देखिएको छ।





































