काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता परिवर्तनको तयारी भइरहेका बेला नेपाली कांग्रेसले तत्काल सरकारबाट बाहिरिने निर्णय रोकेको छ। केन्द्रबाट नयाँ राजनीतिक समीकरणअनुसार तयारी गर्न निर्देशन आए पनि कांग्रेसले ’पर्ख र हेर’ रणनीति अपनाउँदै आफ्ना मन्त्रीहरूको राजीनामा फिलहाल रोक्ने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी ले मुख्यमन्त्री चेतनारायण आचार्य सँग भेटवार्ता गरेपछि तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीले भने यसअघि नै सामूहिक राजीनामा तयार गरिसकेका छन्। तर मुख्यमन्त्रीकै आग्रहपछि त्यो प्रक्रिया केही समयका लागि स्थगित गरिएको छ।

उता एमाले–नेकपा गठबन्धन बलियो बन्दै जाँदा लुम्बिनी सरकारको नेतृत्व एमालेमै रहने लगभग निश्चित देखिएको छ। तर सत्ता समीकरणभन्दा ठूलो चुनौती अहिले एमालेभित्रै मुख्यमन्त्रीको प्रतिस्पर्धा बनेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको निरन्तरतामाथि प्रश्न उठिरहेका बेला पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ लगायतका नेताहरूले पनि मुख्यमन्त्री बन्न आन्तरिक लबिङ तीव्र पारेको चर्चा छ।

यसले लुम्बिनीमा विपक्षी र सत्तापक्षबीचको मात्रै होइन, एमालेभित्रकै शक्ति संघर्ष पनि सतहमा आएको संकेत दिएको छ। अब कांग्रेसले कहिले विश्वासको मत फिर्ता लिन्छ र एमालेले कसलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन्छ भन्ने विषयले लुम्बिनीको आगामी राजनीतिक दिशा तय गर्नेछ।