काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेल ले पार्टीभित्रका कमजोरीकै कारण एमाले अहिलेको अवस्थामा पुगेको स्वीकार गर्दै अब वैचारिक पुनर्गठन र संगठनात्मक रूपान्तरण अपरिहार्य भएको बताएका छन्। लामो समय नेतृत्वको बचाउ गर्दै आएका पोख्रेलले यसपटक भने खुला रूपमा पार्टीको कार्यशैलीमाथि आत्मालोचना गरेका हुन्।
लुम्बिनी प्रदेशमा आयोजित ‘मिशन पार्टी जागरण’ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उनले एमालेले आफ्नै आधार वर्ग गुमाएको स्वीकार गरे। भूमिहीन, किसान, श्रमिक, विद्यार्थी, शिक्षक, विदेशिएका युवा र सुकुम्बासी जस्ता वर्गले पार्टीमाथिको विश्वास गुमाएको भन्दै उनले यसलाई एमालेको सबैभन्दा ठूलो राजनीतिक चुनौतीको रूपमा चित्रण गरे।
पोख्रेलले पार्टी सरकारको शक्ति र प्रशासनिक संयन्त्रमा बढी केन्द्रित हुँदा जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार गरे। “हामी जनतामाझ जानुपर्नेमा जनता हामीकहाँ आउने व्यवस्था बनाउन खोज्यौँ। यही कार्यशैलीले पार्टीलाई सत्तामुखी बनायो, जनतामुखी होइन,“ उनले भने।
उनले सामाजिक सञ्जालमा बनेका नकारात्मक भाष्य, युवालाई आकर्षित गर्न नसक्नु र समयमै समस्या पहिचान गरेर समाधान गर्न नसक्नु पनि एमालेको कमजोरी रहेको स्वीकार गरे। पार्टीलाई पुनः जनतासँग जोड्न अब वैचारिक शुद्धीकरण, संगठन पुनर्गठन र नयाँ कार्यशैली आवश्यक रहेको उनको भनाइ थियो। प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे बोल्दै पोख्रेलले कांग्रेससँग सहकार्य जारी राख्ने चाहना भए पनि सहमति जुट्न नसक्दा नयाँ गठबन्धन बनेको दाबी गरे।





































