गण्डकी । दूध उत्पादनलाई प्रोत्साहन दिन गण्डकी प्रदेश सरकारले ११ हजार २३२ दुग्ध उत्पादक किसानलाई ५ करोड ५८ लाख रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ। आर्थिक वर्ष २०८२÷८३ मा सहकारीमार्फत किसानको खातामा यो रकम पुगेको हो।
प्रदेश सरकारले प्रतिलिटर दूधमा ५ रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। यो सुविधा मापदण्ड पूरा गरेका दुग्ध सहकारीमार्फत किसानसम्म पु¥याइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।
अनुदान पाउन सहकारीले दैनिक कम्तीमा २०० लिटर र वर्षमा २०० दिन दूध कारोबार गरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, किसानले पनि वर्षमा कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेको हुनुपर्ने मापदण्ड लागू गरिएको छ।
सरकारले एक सहकारीलाई अधिकतम १७ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राप्त रकममध्ये ९६ प्रतिशत किसानलाई वितरण गरिन्छ भने बाँकी ४ प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिन्छ। सरकारको विश्वास छ कि यस्तो अनुदानले दुग्ध उत्पादन बढाउनुका साथै किसानलाई व्यवसायमै टिकाइराख्न थप ऊर्जा दिनेछ।




































