विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र बढ्दो विभाजन र आन्तरिक द्वन्द्वका कारण कांग्रेस कमजोर बन्दै गएको बताएका छन्। उनले वर्तमान अवस्थाबाट बाहिर निस्कन पार्टी एकताबाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे। विराटनगरमा आयोजित कांग्रेस इतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस अहिले व्यवहारतः दुई धारमा विभाजित भएको टिप्पणी गरे। उनले नेतृत्व तहका सबै पक्षले अहंकार त्यागेर साझा उद्देश्यका लागि एक ठाउँमा उभिनुपर्ने बताए।
लामो समयपछि आफ्नै निवासमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले कांग्रेसका संस्थापक नेताहरूले जनताको हितलाई केन्द्रमा राखेर राजनीति गरेको स्मरण गरे। अहिलेका नेताहरूले पनि व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर पार्टी र देशको हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। कोइरालाले पार्टीभित्र केही नेताहरू एकल रूपमा अघि बढ्न खोजेको संकेत गर्दै सामूहिक नेतृत्वको संस्कार कमजोर हुँदै गएको बताए। “कांग्रेस जस्तो ठूलो पार्टी कुनै एक व्यक्तिले होइन, सबैलाई साथमा लिएर मात्रै अगाडि बढ्न सक्छ,” उनले भने।
उनले २०४८ सालपछि कांग्रेस नेतृत्वमा मुलुकले विकास र लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै अहिले पार्टी आफ्नो मूल बाटोबाट विचलित भएको बताए। आन्तरिक कलहले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा कमजोर बनाएको उनको निष्कर्ष थियो। कांग्रेस दोस्रो शक्तिमा सीमित भएकोप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले जनाधार अझै पनि गाउँ–गाउँमा बलियो रहेको दाबी गरे। तर नेतृत्वबीचको असमझदारी र विभाजनका कारण त्यो जनसमर्थन मतमा रूपान्तरण हुन नसकेको उनको भनाइ थियो।
संविधान, लोकतन्त्र र पार्टीको भविष्य जोगाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताउँदै उनले सबै पक्षलाई संवाद र सहकार्यको बाटो रोज्न आग्रह गरे।





































