काठमाडौं— सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए ।

संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनले बताए । 

'विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरी पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु,' उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’बाट कानून निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए ।