काठमाडौं / नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवासँगै डा.शशांक कोइरालाको सक्रिय सहभागिता देखिएको छ।
आज आयोजित भेलामा ७ हजारभन्दा बढी नेता, कार्यकर्ता तथा कांग्रेस शुभेच्छुक सहभागी हुने आयोजकले दाबी गरेको छ। भेलाको कार्यक्रम व्यवस्थापन तथा सञ्चालनको संयोजन डा। शशांक कोइरालाले गरिरहेका छन्। भेलास्थलमा राखिएको ब्यानरमा एकातर्फ पूर्वसभापति शेरबहादुर देउवा र अर्कोतर्फ बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाको तस्बिर राखिएको छ। यसअघि देउवा समूहका अधिकांश कार्यक्रममा देउवाको मात्र तस्बिर प्रयोग हुने गरेकामा यसपटक शशांकलाई समेत प्रमुख रूपमा प्रस्तुत गरिएको हो।
भेलामा डा। शशांक कोइरालासँगै डा। शेखर कोइराला पनि सहभागी भएका छन्। करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवा भेलाका प्रमुख अतिथि छन्। उनले कार्यक्रममा सम्बोधन गर्ने आयोजकले जनाएको छ। कांग्रेसमा आगामी नेतृत्व र पार्टीको शक्ति समीकरणलाई लिएर बहस चलिरहेका बेला देउवा समूहको कार्यक्रममा शशांकको नेतृत्वदायी भूमिका देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी देउवा समूहको कार्यक्रममा शशांकको तस्बिर र सक्रिय उपस्थितिले कांग्रेसभित्र पुरानो नेतृत्व र नयाँ समीकरणबीचको सम्भावित सहकार्यबारे चर्चा बढाएको छ।






































