काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र गुटको बहस चर्किरहेका बेला भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले पार्टीभित्रका अवसरवादी प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।

शुक्रबारबाट सुरु भएको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कमजोर हुनुमा पार्टीभित्र मौलाएको ‘परजीवी प्रवृत्ति’ प्रमुख कारण रहेको आरोप लगाए।

उनले कांग्रेसका पुराना नेतृत्वसँग जोडिएर लाभ लिँदै आएका व्यक्तिहरू अहिले पनि फरक नेतृत्वको छेउमा देखिएको भन्दै व्यंग्य गरे। उनका अनुसार यस्ता प्रवृत्ति समाप्त नभएसम्म पार्टीको अवस्था सुधारिन कठिन छ।

थापाले नेतामाथि संकट पर्दा सामाजिक सञ्जालमा सक्रिय देखिने तर वास्तविक समयमा पार्टी र नेताको पक्षमा उभिन नआउनेहरूप्रति पनि प्रश्न उठाए। शेरबहादुर देउवामाथि आक्रमण हुँदा र गगन थापाको घरमा आगजनी हुँदा सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरू त्यतिबेला कहाँ थिए रु भन्दै उनले नेतृत्वको संकटमा देखिने दोहोरो चरित्रमाथि प्रश्न गरे।

कांग्रेसभित्र महाधिवेशन, नेतृत्व हस्तान्तरण र गुटगत समीकरणबारे बहस चलिरहेका बेला आएको थापाको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक विवाद अझ सतहमै आएको संकेत गरेको छ।