काठमाडौं / पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी तथा जनआस्था कार्यालयमा भएको छापा र सञ्चार उपकरण नियन्त्रणको घटनाप्रति विभिन्न पत्रकार संगठन तथा अधिकारकर्मीले आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पत्रकारमाथिको धरपकडले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले प्रेस स्वतन्त्रता अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजले समेत सुनिश्चित गरेको भन्दै घटनालाई अन्तर्राष्ट्रिय तहमा समेत उठाउनुपर्ने धारणा राखे। त्रिपाठीले सरकारबाट मानवअधिकार तथा प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन भएको आरोप लगाउँदै जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले समाचारप्रति असहमति भए कानुनी तथा संस्थागत माध्यम प्रयोग गर्नुपर्ने बताए। पत्रकारलाई पक्राउ गरेर समाचार सामग्री तथा उपकरण नियन्त्रणमा लिनु प्रतिशोधपूर्ण व्यवहार भएको उनको आरोप थियो। त्यस्तै, प्रेस युनियनका महासचिव दिलीप पौडेलले पत्रकार पक्राउ गरेर प्रेसलाई डर देखाउने प्रयास भएको आरोप लगाए। उनले श्रेष्ठको गिरफ्तारीको विषय संसददेखि अन्तर्राष्ट्रिय तहसम्म उठाउनुपर्ने बताए।
प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले पत्रकारका मोबाइल तथा कम्प्युटर नियन्त्रणमा लिएर समाचार स्रोत पत्ता लगाउने प्रयास गरिएको आरोप लगाए। पत्रकारको काम नै प्रश्न उठाउनु भएकाले प्रश्न गर्ने अधिकारमाथि हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारलाई कानुनी प्रक्रियाबाहिर गएर नियन्त्रणमा लिने तथा सञ्चार सामग्री कब्जामा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।






































