काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र गुटगत प्रतिस्पर्धा चर्किरहेका बेला नेता कुन्दनराज काफ्लेले पार्टीभित्र मौलाउँदै गएको एकअर्कालाई कमजोर देखाउने प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।
संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले कांग्रेस कमजोर हुनुको प्रमुख कारणमध्ये एक कांग्रेसीले अर्को कांग्रेसीलाई होच्याएर आफू बलियो बन्न खोज्ने संस्कार रहेको बताए।
उनले विगतमा कांग्रेसका नेता–कार्यकर्ताबीच रहेको आपसी सम्बन्ध अहिले बदलिएको टिप्पणी गरे। ‘पहिले मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो, अहिले एउटा कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने अवस्था आयो’ भन्दै उनले पार्टीको वर्तमान अवस्थामाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए।
काफ्लेले यस्तो प्रवृत्तिलाई कांग्रेसभित्रको ‘भाइरस’को संज्ञा दिँदै १५औँ महाधिवेशनबाट यसको अन्त्य गर्नुपर्ने धारणा राखे। उनको निशानामा पार्टी नेतृत्वसमेत परेको छ। नेतृत्व तहबाटै एकअर्कालाई कमजोर बनाउने संस्कारलाई प्रश्रय दिइएको दाबी गर्दै उनले समयमै यसको उपचार नगरे पार्टीकै अस्तित्व कमजोर बन्ने चेतावनी दिए।
कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर नेतृत्वको दौड र गुटगत सक्रियता बढिरहेका बेला काफ्लेको यस्तो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, नेतृत्व शैली र गुटबन्दीमाथिको बहसलाई थप तातेको छ। उनले कांग्रेसलाई बलियो बनाउन व्यक्ति होइन, सिंगो पार्टीलाई केन्द्रमा राख्ने राजनीतिक संस्कार आवश्यक रहेको सन्देश दिएका छन्।






































