काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेर पार्टीको जागरण अभियानलाई गति दिने भएका छन्। एमालेले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण’ अभियानको झापा उद्घाटन ओलीले गर्ने कार्यक्रम तय भएको छ।
ओली शनिबार बिहान झापा पुग्नेछन्। आइतबार दिउँसो साढे १२ बजे बिर्तामोडमा हुने कार्यक्रममा उनले अभियानको औपचारिक सुरुवात गर्नेछन्।
अन्य जिल्लामा एमालेका महासचिव शंकर पोखरेललगायत नेताले अभियानको नेतृत्व गरिरहेका बेला ओलीको गृहजिल्लामा भने पार्टीले अध्यक्ष स्वयंलाई अघि सारेको हो।
ओली एक दिनअघि नै झापा पुग्नुको अर्को कारण आदिवासी जनजाति महासंघको कार्यक्रममा सहभागी हुनु रहेको एमाले नेताहरूले बताएका छन्।
पार्टी संगठनलाई थप सक्रिय बनाउने उद्देश्यसहित एमालेले जिल्लाजिल्लामा जागरण अभियान सञ्चालन गरिरहेको छ। त्यसैक्रममा झापाबाट ओलीले कार्यकर्ता र संगठनलाई लक्षित गर्दै अभियानको सन्देश दिने तयारी गरिएको छ।
गृहजिल्लामै पार्टीको अभियान उद्घाटन गर्न लागेकाले ओलीको झापा भ्रमणलाई एमालेभित्र संगठन सुदृढीकरण र आगामी राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।






































