धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेकपाका प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले पद तथा गोपनीयताको शपथ लिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।
नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिका आधारमा भट्ट मुख्यमन्त्री बनेका हुन्। दुई दलबीचको सत्ता सहमतिले प्रदेश सरकारको नेतृत्व परिवर्तन गराएको हो।
यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख मियाँले भट्टलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्रीको शपथ लिएसँगै भट्टसामु अब प्रदेश सरकारलाई स्थायित्व दिने, गठबन्धनबीचको सहकार्य कायम राख्ने र प्रदेशका विकास तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने चुनौती देखिएको छ।
कांग्रेस नेतृत्वको सरकार ढलेसँगै सुदूरपश्चिमको सत्ता समीकरण फेरिएको छ। एमाले–नेकपा सहकार्यमा भट्टको नेतृत्वमा नयाँ सरकार बनेसँगै प्रदेशको आगामी राजनीतिक दिशा र गठबन्धनको कार्यसम्पादनलाई चासोका साथ हेरिएको छ।






































