विराटनगर । उपभोक्ताको सुरक्षामाथि खेलबाड गरेको भेटिएपछि मोरङमा रिजालको भान्सा ग्यास उद्योगमाथि झन्डै ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।

बुढीगंगा–५ स्थित उद्योगमा गरिएको अनुगमनका क्रममा भरिएका १९ वटा सिलिन्डरको तौल जाँच गर्दा एउटामा तोकिएको भन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो।

त्यति मात्रै होइन, उद्योगले म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा समेत ग्यास भरेर बजार पठाउने तयारी गरेको अनुगमन टोलीले फेला पारेको छ। म्याद नाघेका सिलिन्डर प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई गम्भीर लापरबाहीका रूपमा लिइएको छ।

उपभोक्ता हितविपरीतका यी गतिविधि भेटिएपछि जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयसहितको टोलीले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको हो।

यता विराटनगर–३ स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै १५ हजार रुपैयाँ जरिबाना गरिएको प्रशासनले जनाएको छ।

ग्यासको तौलदेखि सिलिन्डरको सुरक्षासम्म खेलाँची गर्ने व्यवसायीमाथि प्रशासनको कारबाहीले उपभोक्ता ठगी र सुरक्षामा लापरबाही गर्ने व्यवसायीलाई कडा निगरानीको संकेत दिएको छ।