काठमाडौं । रोल्पामा पहिरोबाट भएको जनधनको क्षतिप्रति चासो जनाउँदै नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले सरकारसँग तत्काल उद्धारदेखि दीर्घकालीन पुनर्वाससम्मको ठोस योजना अघि बढाउन माग गरेको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै पहिरोमा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचार तथा मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
पहिरोको जोखिम अझै कायम रहेको भन्दै नेकपाले जोखिमयुक्त बस्तीमा रहेका नागरिकको तत्काल सुरक्षा, थप खोज तथा उद्धार र विस्थापितको पुनर्स्थापना गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टीले विपद् सकिएपछि मात्र राहतमा सीमित नरही जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा दीर्घकालीन पुनर्वासको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ।
नेकपाले घाइतेको उपचार, खोज तथा उद्धार र विस्थापितको पुनर्स्थापनामा सक्रिय रूपमा जुट्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।
रोल्पाको पहिरोले तत्काल उद्धारसँगै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने दीर्घकालीन चुनौती पनि सरकारसामु खडा गरेको छ।






































