काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई पुरानै सीमित सोचबाट बाहिर निकाल्दै वार्षिक १ करोड पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित अघि बढ्नुपर्ने सभामुख डोलप्रसाद अर्यालले बताएका छन्।
नाटा ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले पर्यटनमा २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नरही ठूलो सपना, स्पष्ट योजना र दीर्घकालीन रणनीति आवश्यक रहेको बताए।
विश्व पर्यटन बजार प्रविधि र पर्यटकको बदलिँदो रुचिअनुसार तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै उनले नेपालले पनि आफूलाई सोहीअनुसार तयार गर्नुपर्नेमा जोड दिए।
पर्यटक आगमन बढाउन पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले पर्यटकीय सवारीका लागि व्यवस्थित ‘टुरिस्ट बस पार्क’ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
सभामुख अर्यालले पर्यटन व्यवसायीहरूबीचको आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थ अन्त्य गरी सामूहिक हित र पर्यटन विकासको साझा लक्ष्यमा केन्द्रित हुन आग्रह गरे।
उनले पर्यटन क्षेत्रलाई तत्कालको आवश्यकताले मात्र निर्देशित नगरी आगामी ५० वर्षलाई हेरेर बलियो कानून निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपालको पर्यटनलाई १ करोड पर्यटकसम्म पुर्याउने लक्ष्य अब भाषणमा सीमित नराखी पूर्वाधार, कानून, व्यवसायिक एकता र दीर्घकालीन योजनासँग जोड्नुपर्ने चुनौती सरकारसामु देखिएको छ।






































