काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको लडाइँ उत्कर्षमा पुगेका बेला नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई आफ्नो समूहको नेता भन्दै खुलेरै राजनीतिक कित्ता प्रस्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित देउवा-शेखर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई विभाजनबाट जोगाउन आफूहरूले भेला आयोजना गरेको बताए। तर, एकताको आह्वान गरिरहँदा उनले नेतृत्वको सवालमा भने कुनै अस्पष्टता नराखी ‘हाम्रो नेता शेरबहादुर देउवा नै हो’ भन्ने सन्देश दिएका छन्।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ संरचना बनेपछि कांग्रेसभित्र दुई समानान्तर शक्ति केन्द्र देखिएका बेला शशांकको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बीपीको स्मरण गर्दै देउवाको पक्षमा उभिए

शशांकले आफ्नो राजनीतिक धारणा राख्ने क्रममा पिता बीपी कोइरालासँग जोडिएको पुरानो प्रसंग सुनाउँदै देउवासँगको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरे। उनका अनुसार बीपीले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गर्थे। देउवा पहिलोपटक बनारस आउँदा बीपीले आफूलाई उनलाई घुमाउन भनेको र त्यसक्रममा एकै दिन तीनवटा सिनेमा हेरेको प्रसंगसमेत शशांकले सुनाए।

पुरानो व्यक्तिगत सम्बन्धको प्रसंगलाई अहिलेको राजनीतिक विवादसँग जोड्दै शशांकले देउवालाई आफूहरूको नेतृत्वका रूपमा प्रस्तुत गरेका हुन्।

‘एकता’को नाराभित्र नेतृत्वको सन्देश

शशांकको भाषणको मुख्य सन्देश कांग्रेसलाई एकताबद्ध बनाउने थियो। उनले कांग्रेस एकजुट भए कसैले पराजित गर्न नसक्ने दाबी गरे। तर कांग्रेसभित्र एकताको सबैभन्दा ठूलो प्रश्न नै नेतृत्व र वैधानिकतालाई लिएर उठिरहेको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई एक पक्षले वैधानिक नेतृत्व मानिरहेको छ भने देउवा–शेखर समूह त्यसलाई अस्वीकार गर्दै आफ्नै राजनीतिक गतिविधि अघि बढाइरहेको छ।

यही पृष्ठभूमिमा शशांकले देउवालाई ‘हाम्रो नेता’ घोषणा गर्नु सामान्य भाषणभन्दा बढी शक्ति समीकरणको सार्वजनिक संकेत बनेको छ। राष्ट्रिय भेलामार्फत देउवा–शेखर समूहले आफ्नो शक्ति देखाइरहेका बेला शशांकको अभिव्यक्तिले उक्त समूहको नेतृत्वसम्बन्धी धारणा झन् स्पष्ट बनाएको छ।

कांग्रेस एक बनाउने शशांकको आह्वान छ, तर नेतृत्वको प्रश्नमा उनको रोजाइ भने प्रस्ट छ-देउवा। अब यही ‘एकता’को नाराले कांग्रेसको दुई धारलाई नजिक ल्याउँछ कि विवादलाई थप गहिरो बनाउँछ, त्यसले आगामी राजनीतिक समीकरण तय गर्नेछ।