टोकियो । पूर्वी जापानमा परेको असाधारण भारी वर्षाले बाढी र पहिरो निम्त्याउँदा जनजीवन नराम्ररी प्रभावित भएको छ। चिबा प्रान्तमा मात्रै चार जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन्। बिहीबार साँझदेखि परेको अविरल वर्षाले सडक, रेलमार्ग र बस्ती डुबानमा परेपछि टोकियोस्थित ल्बचष्तब क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत समेत प्रभावित भएको छ। रेल सेवा अवरुद्ध हुँदा विमानस्थलमा करिब ६ हजार यात्रु रातभर अलपत्र परेका थिए।

वर्षाको तीव्रता सामान्य अवस्थाभन्दा निकै माथि पुगेको थियो। चिबाका केही स्थानमा एक घण्टामै ११५ मिलिमिटर पानी परेको थियो भने २४ घण्टामा ३६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। बाढीको पानी सडक र घरभित्र पसेपछि चिबाका विभिन्न क्षेत्रमा उद्धार तथा राहतको काम तीव्र पारिएको छ। करिब २६ हजार घरपरिवार विद्युत्विहीन भएका छन्। दर्जनौँ घर पूर्ण रूपमा डुबेका छन् भने सयौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

अत्यधिक वर्षाका कारण सडक र रेल सेवा प्रभावित हुँदा यात्रुहरू लामो समयसम्म स्टेसन तथा विमानस्थलमै रोकिएका थिए। विमानस्थलमा अलपत्र यात्रुलाई कर्मचारीले पानी, खाना र सुत्ने झोला उपलब्ध गराएका थिए। जापान मौसम विज्ञान एजेन्सीले चिबामा पहिलोपटक उच्चस्तरीय भारी वर्षाको चेतावनी जारी गरेको थियो। केही क्षेत्रमा जीवन जोगाउन तत्काल कदम चाल्नुपर्ने पाँचौँ तहको चेतावनीसमेत जारी गरिएको थियो।

वर्षा केही कम भएपछि चेतावनीको स्तर घटाइएको भए पनि पहिरो र बाढीको जोखिम पूर्ण रूपमा हटेको छैन। लगातार बढिरहेका यस्ता चरम मौसमी घटनाले जापानमा जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिममाथि समेत नयाँ बहस सुरु गराएको छ। चार जनाको ज्यान गएको, हजारौँ यात्रु अलपत्र परेको र हजारौँ घरमा विद्युत् अवरुद्ध भएको पछिल्लो घटनाले जापानजस्तो विपद् व्यवस्थापनमा अगाडि रहेको देशसमेत असाधारण वर्षाको चपेटाबाट कति प्रभावित हुन सक्छ भन्ने देखाएको छ।