काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर पार्टीभित्रको शक्ति संघर्ष चर्किरहेका बेला उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको पक्षमा ठूलो मतको दाबी गरेका छन्। उनले गगनलाई सभापति बनाउन ५१ प्रतिशत मात्रै होइन, ७१ प्रतिशत मत ल्याउने लक्ष्य सार्वजनिक गरेका हुन्। शर्माले शुक्रबार पत्रकार सम्मेलनमार्फत असन्तुष्ट पक्षलाई संवादमा फर्किन आग्रह गर्दै सहमतिका आधारमा अघि बढ्न नसके पनि निर्धारित समयभित्रै महाधिवेशन गराएर गगनलाई नेतृत्वमा पुर्याउने दाबी गरे।
उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशन मंसिरभन्दा अघि नै सम्पन्न गर्नुपर्ने बाध्यता छ। त्यसैले असोजमा तोकिएको महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने उनको जोड छ। विश्वप्रकाशले संस्थापनइतर पक्षलाई संवादका लागि दुई विकल्पसमेत अघि सारेका छन्। यसअघि प्रस्ताव गरिएको सातबुँदे विषयमा खुला छलफल गर्ने वा असहमतिको बाटोमै अघि बढ्नेमध्ये एउटा विकल्प रोज्न उनले आग्रह गरेका हुन्।
उनको भनाइमा सातबुँदे प्रस्तावमा संशोधन, थपघट वा सुधार गर्नुपर्ने विषय भए त्यसमा छलफल गर्न कांग्रेस तयार छ। तर संवादको बाटो छाडेर विवादलाई थप चर्काउने प्रयासले पार्टीलाई नै कमजोर बनाउने उनको संकेत थियो। शर्माले महाधिवेशनको विषयमा निर्वाचन आयोग र अदालतका प्रक्रियातर्फ मात्रै हेरेर बस्ने विकल्पप्रति समेत असन्तुष्टि जनाएका छन्। कांग्रेसले आफ्नै आन्तरिक प्रक्रियाबाट निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको तर्क छ।
विश्वप्रकाशको पछिल्लो अभिव्यक्तिले कांग्रेसको आगामी नेतृत्वका लागि गगन थापाको दाबीलाई थप आक्रामक रूपमा अघि सारेको छ। ७१ प्रतिशत मतको दाबी केवल सभापतिको उम्मेदवारी घोषणा मात्र नभई पार्टीभित्र आफ्नो पक्षको शक्ति प्रदर्शन गर्ने रणनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।
अब कांग्रेसभित्रको मुख्य प्रश्न महाधिवेशन कहिले हुन्छ भन्ने मात्र नभई असन्तुष्ट पक्षलाई कसरी समेटिन्छ र गगन थापाको नेतृत्व दाबीलाई पार्टीको ठूलो हिस्साले कसरी स्वीकार गर्छ भन्ने बनेको छ।निर्धारित समयमै महाधिवेशन गराउने र नयाँ नेतृत्वमा जाने शर्माको दाबी कार्यान्वयनमा जान सके कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा झनै रोचक बन्ने देखिन्छ।





































