जनकपुरधाम । गर्मी चर्किएसँगै मधेस प्रदेशमा सर्पदंशको जोखिम बढेको छ। पछिल्ला केही दिनयता सर्पदंशका बिरामीको संख्या बढ्न थालेपछि प्रदेश सरकारले उपचार केन्द्रहरूमा एन्टी स्नेक भेनमको आपूर्ति तीव्र बनाएको छ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन थालेको जनाएको छ। औषधि अभाव देखिएका केन्द्रमा तत्काल आपूर्ति बढाइएको छ।सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा ३० भायल तथा वीरगञ्जस्थित नारायणी अस्पतालमा १०० भायल एन्टी स्नेक भेनम पठाइएको छ। अन्य उपचार केन्द्रबाट आउने मागका आधारमा पनि औषधि पठाउने क्रम जारी छ।

स्वास्थ्य आपूर्ति केन्द्रका अनुसार अहिले प्रदेशस्तरमा ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ। थप औषधि पनि आउने प्रक्रियामा रहेकाले उपचार केन्द्रमा औषधि अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।तर औषधि व्यवस्थापनसँगै बिरामीको चाप भने बढिरहेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा मात्रै पछिल्ला दिनमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।विशेषगरी रौतहट, बारा र पर्सालगायत जिल्लामा गर्मी बढेसँगै सर्पदंशका घटना बढेको पाइएको छ। ग्रामीण क्षेत्रमा खेतबारीमा काम गर्ने तथा घर वरपरको झाडीमा जाने मानिस बढी जोखिममा पर्ने गरेका छन्।

सर्पदंशको जोखिम बढेपछि स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन्। राति सुत्दा झुल प्रयोग गर्ने, घर वरपरका झाडी तथा फोहोर सफा राख्ने र खेतबारीमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न उनीहरूको सुझाव छ। सर्पले टोकेमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै उपचार केन्द्र पुग्नु रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय बिताउँदा अवस्था गम्भीर बन्न सक्ने भएकाले तत्काल स्वास्थ्य संस्थामा लैजान आग्रह गरिएको छ।

गर्मी र मनसुनसँगै सर्पको गतिविधि बढ्ने भएकाले मधेसमा अहिले सर्पदंशको जोखिमलाई मौसमी स्वास्थ्य चुनौतीका रूपमा हेरिएको छ। औषधि मौज्दात र आपूर्ति सुनिश्चित गरिए पनि ग्रामीण क्षेत्रमा समयमै उपचारको पहुँच पुर्‍याउनु अर्को ठूलो चुनौती बनेको छ।