कास्की । कास्की–पर्वत जोड्ने दुई मेटल पुल बाढीले बगाएपछि आवागमन ठप्प भएको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा रहेको अन्नपूर्ण माता मन्दिर क्षेत्रमा राति आएको बाढीले ठूलो क्षति पुर्याएको हो।
अविरल वर्षापछि मोदीखोलामा आएको भीषण बाढीले मन्दिरसम्म पुग्ने कास्की र पर्वततर्फका दुवै मेटल पुल बगाएको छ। पुल बगेपछि मन्दिरसँगको स्थल सम्पर्कसमेत विच्छेद भएको छ।बाढीले मन्दिरको आधा भागमा समेत क्षति पुर्याएको छ। घटनाका क्रममा मन्दिरमै रहेका एक सन्त पुजारी र दुई भक्तजन गरी तीन जना बाढीको बीचमा फसेका छन्।
उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट रोप रेस्क्यु टोली तथा गोताखोरसहितको टोली घटनास्थल पुगेको छ। चार जना रोप रेस्क्यु र तीन जना गोताखोर उद्धारमा परिचालन गरिएको छ।बाढीको बहाव तीव्र रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनाले अविरल वर्षासँगै पहाडी क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्दा मानवीय जोखिम थप बढेको देखाएको छ।
दुई पुल बगेपछि बाटो बन्द, मन्दिरमा तीन जना फसेका अवस्थामा उद्धार टोली परिचालन भएको छ।






































