रुकुमपूर्व । लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएपछि रुकुमपूर्व प्रशासनले रातिको समयमा राजमार्गमा सवारी सञ्चालनमै रोक लगाएको छ।

साउन २९ गते राति ९ बजेदेखि साउन ३० गते बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको हो। सडकमा पहिरो खस्ने क्रम नरोकिएको र वर्षा अझै जारी रहने पूर्वानुमानपछि प्रशासनले यस्तो कदम चालेको हो

पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरालगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने हटेको छैन।

प्रशासनका अनुसार लगातारको वर्षाले सडक आसपासको जमिन कमजोर बनेको छ। यस्तो अवस्थामा रातिको समयमा अचानक पहिरो वा ढुंगा खस्दा चालकले समयमै जोखिम पहिचान गर्न नसक्ने भएकाले दुर्घटनाको सम्भावना थप बढेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित मानवीय क्षति रोक्न रातिको आवागमन बन्द गर्ने निर्णय गरेको हो। प्रशासनले वर्षाको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडक तथा मौसमको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ।

पहिरो हटे पनि जोखिम नहटेको अवस्थालाई मध्यनजर गर्दै गरिएको यो निर्णयले रुकुमपूर्वको मध्यपहाडी सडकमा वर्षायामको यात्रा अझै कति जोखिमपूर्ण छ भन्ने देखाएको छ।