कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनसँगै नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।मुख्यमन्त्रीसहित आजै एमालेका तीन मन्त्रीले शपथ लिने तयारी छ। एमाले संसदीय दलको निर्णयअनुसार सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री बन्ने भएका छन् भने प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ।

त्यस्तै दमन भण्डारीलाई पनि सरकारमा सहभागी गराउने निर्णय भएको छ। उनको मन्त्रालय भने नेकपाका नेताहरूसँगको छलफलपछि टुंगो लगाउने तयारी छ। उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था, कृषि तथा सहकारीमध्ये एक मन्त्रालय दिने तयारी छ।एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णयसमेत गरेको छ।

यससँगै सुदूरपश्चिममा एमालेले सरकारमा आफ्नो उपस्थिति बलियो बनाउने संकेत गरेको छ। मुख्यमन्त्रीको नेतृत्वमा सरकार गठन भएलगत्तै मन्त्रालय बाँडफाँट र जिम्मेवारी तोक्ने प्रक्रिया तीव्र बनेको हो।एमालेको निर्णयले सरकारको प्राथमिकतामा आर्थिक व्यवस्थापन, सामाजिक विकास, उद्योग–पर्यटन तथा कृषि क्षेत्र पर्ने संकेतसमेत गरेको छ।

अब एमाले र नेकपाबीच मन्त्रालयगत जिम्मेवारीमा अन्तिम सहमति भएपछि प्रदेश सरकारको पूर्ण टिमले औपचारिकता पाउनेछ। नयाँ सरकारका लागि भने राजनीतिक समीकरण मिलाउनुका साथै प्रदेशको विकास र जनअपेक्षा सम्बोधन गर्ने चुनौती एकसाथ खडा भएको छ।