काठमाडौं । सुदूरपश्चिम प्रदेशको नेतृत्व अब नेकपाका खगराज भट्टको काँधमा पुगेको छ । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भट्टले आफ्नो प्राथमिकता र चुनौतीबारे स्पष्ट संकेत दिएका छन्- ठूला चमत्कारको घोषणा होइन, उपलब्ध स्रोत र समयभित्र जनताले महसुस गर्ने काम गर्ने प्रयास ।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नाजिर मियाँले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । नियुक्तिपछि उनले सुदूरपश्चिमका करिब २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई राजनीतिक उपलब्धिभन्दा बढी जिम्मेवारीका रूपमा लिएको बताए ।दूबोको माला लगाएर पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भट्टले आफू खुसी भए पनि त्यो खुसीभन्दा जिम्मेवारीबोध र चुनौतीको दबाब बढी महसुस भएको बताए ।
सुदूरपश्चिम लामो समयदेखि विकासको गति, रोजगारी, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा प्रदेशको आर्थिक क्षमताजस्ता विषयमा चुनौतीसँग जुधिरहेको छ । यस्तो अवस्थामा नयाँ मुख्यमन्त्रीका रूपमा भट्टको पहिलो परीक्षा भाषणभन्दा काममा देखिने परिणामबाट हुने देखिन्छ ।भट्टले आफूले असम्भव वाचा नगर्ने संकेत गर्दै ‘धेरै चमत्कार सम्भव नहुने’ बताए । तर, आफ्नो कार्यकालमा जनताले सरकारबाट केही राम्रो भएको अनुभूति गर्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।
उनका अनुसार सरकारको केन्द्रमा सुदूरपश्चिमेली जनता रहनेछन् । त्यसैले अब उनको नेतृत्वको मुख्य चुनौती प्रदेशको प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने काम अघि बढाउनु हुनेछ ।राजनीतिक समीकरणबाट मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका भट्टका लागि सरकार टिकाउने चुनौतीसँगै प्रदेशका वास्तविक समस्या समाधान गर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ । अब उनको कार्यशैली, निर्णय क्षमता र एमालेसहितको समर्थनलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयले सुदूरपश्चिम सरकारको आगामी दिशा तय गर्नेछ । मुख्यमन्त्री भट्टले चमत्कार नगर्ने बताएका छन्, तर जनतालाई ‘राम्रो भयो’ भन्ने अनुभूति दिलाउने उनको दाबी अब व्यवहारमै कति प्रमाणित हुन्छ-त्यसको परीक्षा सुरु भएको छ।






































