काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदै गर्दा पार्टीको इतर समूहले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेको छ ।

हङकङबाट बैंकक हुँदै देउवा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेतासहित ठूलो समूह विमानस्थल पुग्ने भएको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइरालासहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र नेता–कार्यकर्ताहरू अतिथि कक्षमै पुगेर देउवाको स्वागत गर्ने तयारीमा छन् ।


आयोजकका अनुसार ५ हजारभन्दा बढी नेता–कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी छ । तरुण दल र नेविसंघका कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।विमानस्थलको स्वागतपछि देउवालाई चुनदेवीस्थित निवाससम्म स्कर्टिङ गरिनेछ । काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई झण्डा तथा देउवाको तस्बिरसहित सहभागी हुन भनिएको छ ।


सबैभन्दा रोचक पक्ष भनेको—देउवाको स्वागतको नेतृत्व गरिरहेको समूह नै कांग्रेसको इतर समूह हो ।स्वदेश फर्किएलगत्तै देउवाले साउन २९ गते इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।तर देउवाको आगमनबारे इतर समूहले संस्थापन पक्षलाई औपचारिक जानकारी भने दिएको छैन ।


देउवाको स्वागत कि शक्ति प्रदर्शन र? विमानस्थलदेखि राष्ट्रिय भेलासम्म कांग्रेसभित्रको नयाँ समीकरणको संकेत देखाउने तयारीमा इतर समूह रहेको छ ।