काठमाडौं । राप्रपाबाट अलगिएको डा. धवलशम्शेर राणा समूहले दुर्गा प्रसाईंसँगको सहकार्य अनिश्चित बने पनि नयाँ दल दर्ताको तयारी अघि बढाएको छ । राणाको समूहले साउन २९ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको हो । पार्टी दर्ताका लागि दिउँसो साढे १२ बजेको समयसमेत लिइसकेको बताइएको छ ।

धवल पक्षका नेता मुकुन्दश्याम गिरीका अनुसार प्रसाईं पक्ष आए सहकार्य गरेरै अघि बढ्ने तर नआए पनि दल दर्ता नरोकिने स्पष्ट निर्णय छ । यसअघि राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने गरी पार्टी एकताको घोषणा गरिएको थियो । तर अहिले अधिकार र वरीयताको विवादले प्रस्तावित एकतामै संकट ल्याएको छ ।

मुख्य विवाद ‘सर्वोच्च नेता’ को अधिकारमा देखिएको छ । प्रसाईं पक्षले सर्वोच्च नेतालाई कार्यकारी अधिकार दिनुपर्ने र चुनावमा टिकट वितरणमा उनको हस्ताक्षर हुनुपर्ने माग राखेको छ । धवल पक्ष भने अध्यक्षभन्दा माथि अधिकार दिने व्यवस्थामा सहमत छैन । दुवै पक्षबीच मंगलबार कार्यदलस्तरमा छलफल भए पनि सहमति जुट्न सकेन । यद्यपि प्रसाईं पक्षले अझै सहकार्यको सम्भावना बाँकी रहेको दाबी गरेको छ ।

तर धवल पक्षकी प्रेस संयोजक राधिका जोशीले भने संस्थागत सहकार्यको सम्भावना कमजोर भइसकेको बताएकी छन् । उनका अनुसार प्रसाईं पक्षबाट आउने व्यक्तिलाई समेट्न सकिने भए पनि पार्टी गठन प्रक्रिया अब आफ्नै ढंगले अघि बढ्नेछ । प्रस्तावित पार्टीमा १०१ सदस्यीय केन्द्रीय समिति बनाउने समझदारी थियो । धवल समूहबाट ४०, प्रसाईं समूहबाट ४० र अन्य समूहबाट २० जना समेट्ने भनिएको थियो ।

अब निर्णायक मिति साउन २९-प्रसाईंसँगको एकता जोगिन्छ कि धवल समूह एक्लै ‘जय नेपाल पार्टी’ लिएर निर्वाचन आयोग पुग्छ रु