काठमाडौं / नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र देखिएको विभाजन र असन्तुष्टि संवादमार्फत समाधान गर्दै कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पुगेका कोइरालाले कांग्रेसभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताए। उनले पार्टीबाट अलग भएर गतिविधि गरिरहेका तथा असन्तुष्ट पक्षलाई समेत संवादमार्फत मूलधारमा फर्काउनुपर्ने धारणा राखे। कोइरालाका अनुसार पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको कारण बनाउन नहुने बताए। सबै पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। पार्टीभित्रको विवाद लामो समयसम्म कायम राख्दा त्यसको असर संगठन र आगामी राजनीतिक यात्रामा पर्ने उनको भनाइ छ। कोइरालाले ढिलोचाँडो कांग्रेसका सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको बताए। उनले पार्टीलाई पुनः एकताबद्ध र सुदृढ बनाउन आफ्नो तर्फबाट प्रयास जारी राख्ने समेत बताएका छन्।