चितवन । भरतपुरका बस्ती आसपास बच्चासहित चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। एउटा बच्चा नियन्त्रणमा लिएर संरक्षणकर्मीको जिम्मा लगाइएको छ भने माउ चितुवा अर्को बच्चासहित अझै बस्ती आसपास रहेको बताइएको छ।

वन्यजन्तु प्राविधिकका अनुसार बच्चालाई बाघ वा अर्को चितुवाबाट जोगाउन माउ बस्ती आसपास आएको हुनसक्छ। चितुवा नियन्त्रणका लागि वन कार्यालयले ड्रोन, सीसी क्यामेरा, खोर र लेग ट्रयाप प्रयोग गरिरहेको छ।

रुख चढ्न सक्ने भएकाले चितुवा नियन्त्रण चुनौतीपूर्ण बनेको छ। वन कार्यालयले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै माउ र अर्को बच्चाको खोजी तथा नियन्त्रण अभियान तीव्र पारेको छ।