रामेछाप / रोजगारीका लागि युवा जनशक्ति विदेशिने र गाउँबाट सहरतर्फ बसाइँसराइ बढेसँगै रामेछापका खेतीयोग्य जमिन बाँझिँदै गए पनि कोदो खेतीलाई आम्दानी र रोजगारीको आधार बनाउन सकिने सम्भावना देखिएको छ।

किसानले परम्परागत बाली छाडेर उन्नत तथा हाइब्रिड बालीतर्फ आकर्षित हुँदा जिल्लाका धेरै रैथाने बाली संकटमा परेका छन्। कतिपय स्थानीय बाली लोप भइसके पनि किसानले कोदो खेतीलाई भने निरन्तरता दिँदै आएका छन्। स्वास्थ्यका दृष्टिले कोदोको महत्व बढ्दै गएपछि पछिल्लो समय यसको मागसमेत बढ्न थालेको किसानहरू बताउँछन्।

विगतमा गरिबको खाद्यान्नका रूपमा हेरिने कोदो अहिले पौष्टिक खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ।मन्थली नगरपालिका–२ का वडा सदस्य तथा कृषक बालाकाजी श्रेष्ठका अनुसार कोदोको उत्पादन बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानी सिर्जना गर्न सकिन्छ। तर, उत्पादन लागतअनुसारको मूल्य नपाउँदा किसान खेतीबाट क्रमशः टाढिँदै गएको उनको भनाइ छ।

‘परम्परागत खेतीबाट किसानले लगाएको श्रमको मूल्यसमेत उठाउन कठिन हुन्छ,’ श्रेष्ठले भने, ‘कोदोलाई बजारसँग जोड्न सकियो भने किसानलाई फेरि खेतीतर्फ फर्काउन सकिन्छ।’

उनका अनुसार कोदोलाई ढिँडो र रोटीमा मात्र सीमित नराखी बिस्कुट, केक, नुडल्स, पिठो तथा अन्य खाद्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्न आवश्यक छ। यसबाट किसानले उत्पादनको उचित मूल्य पाउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। त्यस्तै, कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई मापदण्डअनुसार प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्न सके त्यसले समेत किसानको आम्दानी बढाउन सक्ने सम्भावना रहेको श्रेष्ठले बताए।

कृषि क्षेत्रमा जनशक्तिको अभाव, जलवायु परिवर्तन, सरकारी प्राथमिकताको कमी र उत्पादनको उचित मूल्य नपाउनु रैथाने बाली संरक्षणका प्रमुख चुनौती बनेका छन्। यस्ता समस्या समाधानका लागि उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म राज्यले सहयोग गर्नुपर्ने किसानहरूको माग छ। कोदोको व्यावसायिक उत्पादन, प्रशोधन र ब्रान्डिङमा लगानी गर्न सके बाँझिँदै गएका खेतमा पुनः खेती फर्काउनुका साथै स्थानीय अर्थतन्त्र र रोजगारी विस्तार गर्न सकिने सम्भावना देखिएको छ।