काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको मुद्दामा एउटै मोर्चामा उभिएका धवल शम्शेर राणा र दुर्गा प्रसाईं अब भने अलग राजनीतिक बाटोमा जाने भएका छन्। दुई महिनाअघि सुरु भएको सहकार्य पार्टी गठनको चरणमा पुग्दा नेतृत्व, अधिकार र वरीयताको विवादले दुई धारमा विभाजित भएको हो।
राणा पक्षले ‘जय नेपाल पार्टी’ नाममा नयाँ दल दर्ताको तयारी अघि बढाएको छ। पार्टी दर्ताका लागि आज निर्वाचन आयोग जाने तयारी रहेको र चुनाव चिह्नका रूपमा त्रिभुज प्रस्ताव गरिएको बताइएको छ। तर, राणासँगै नयाँ दल गठनमा जाने तयारी गरेका प्रसाईं भने उक्त प्रक्रियामा सहभागी नहुने भएका छन्। प्रसाईंनिकट स्रोतका अनुसार उनीहरू छुट्टै राजनीतिक दल निर्माणको तयारीमा छन्।
दुवै पक्षबीचको दूरी बढ्नुको मुख्य कारण पार्टीभित्रको शक्ति बाँडफाँट देखिएको छ। यसअघि धवल शम्शेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने समझदारी बने पनि प्रसाईंले थप कार्यकारी अधिकार र पार्टीको पहिलो वरीयता मागेपछि विवाद चर्किएको थियो।त्यसपछि प्रसाईंले राणाप्रति लक्षित गर्दै दिएका सार्वजनिक अभिव्यक्तिले सम्बन्ध थप तनावपूर्ण बनायो। विशेषगरी ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्ने प्रसाईंको अभिव्यक्तिपछि राणा पक्ष असन्तुष्ट बनेको थियो।
यद्यपि दुवै पक्षबीच संवाद पूर्णरूपमा टुटिसकेको छैन। राणा पक्षका नेताहरूका अनुसार प्रसाईंसँग अझै संवाद भइरहेको छ र पार्टी दर्ताको प्रक्रियापछि पनि सहकार्यको सम्भावना खुला राखिएको छ।उता प्रसाईंले सामाजिक सञ्जालमार्फत आफ्नै पार्टी आउने घोषणा गरिसकेका छन्। उनले नयाँ पार्टीलाई सबै जातजाति र धर्मको साझा राजनीतिक शक्ति बनाउने दाबी गर्दै वैदिक सनातनी हिन्दु अधिराज्यसहित पीडित र आम नागरिकको अधिकारका लागि काम गर्ने बताएका छन्।
यससँगै राजसंस्था र हिन्दु राष्ट्रको एउटै नाराबाट अघि बढेका दुई प्रभावशाली अनुहार अब छुट्टाछुट्टै संगठन निर्माणको बाटोमा पुगेका छन्। सहकार्यबाट सुरु भएको राजनीतिक यात्रा अन्ततः नेतृत्वको टकराव र पार्टी संरचनाको विवादमा आएर दुई धारमा परिणत भएको देखिएको छ।अब दुवै पक्षले कस्तो संगठन निर्माण गर्छन् र राजसंस्था तथा हिन्दु राष्ट्रको मुद्दामा उनीहरूको राजनीतिक प्रभाव कति विस्तार हुन्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ।





























