काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ नाटाको ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख अर्यालले पर्यटन व्यवसायमार्फत मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने बताएका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रचार गर्न सके पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सकिने बताए ।

सभामुख अर्यालले पर्यटन व्यवसायीलाई नेपालको पर्यटनका ‘राजदूत’को संज्ञा दिँदै विदेशी पर्यटक आकर्षित गर्न उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार पर्यटन क्षेत्रले विदेशी मुद्रा भित्र्याउनुका साथै ठूलो संख्यामा युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्छ । पर्यटन क्षेत्रको विस्तारसँगै होटल, यातायात, ट्राभल, गाइड तथा अन्य सेवा व्यवसायसमेत विस्तार हुने उनले बताए ।

नेपालको पर्यटन सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । सभामुख अर्यालले नाटामा आबद्ध व्यवसायी तथा संस्थाहरूले नेपालको पर्यटन प्रवद्र्धनमा गर्दै आएको योगदानलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने बताए ।