काठमाडौं । रोल्पामा बाढी र पहिरोले जनधनमा क्षति पुर्‍याएपछि नेकपाका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर तत्काल उद्धार र राहतमा जोड दिएका छन्।

शुक्रबार बिहान सिंहदरबार पुगेका पुनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङलगायतका क्षेत्रमा पहिरोबाट उत्पन्न अवस्थाबारे जानकारी गराएका हुन्।पुनको सचिवालयका अनुसार भेटमा विशेषगरी पहिरोमा परेर बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।

सुनछहरी–२ फलवाङमा पहिरोले वीरबहादुर घर्ती मगरको घर पुरिँदा उनीसहित तीन जना बेपत्ता छन्। त्यस्तै सोही वडाको गिट्ठेमा लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ। उक्त घरमा कति जना मानिस थिए भन्ने यकिन हुन बाँकी छ।लगातारको वर्षापछि रोल्पासहित पश्चिम नेपालका विभिन्न जिल्लामा बाढी, पहिरो र कटानका घटना बढिरहेका बेला पुनले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।घटनास्थलमा उद्धार टोली परिचालन भए पनि वर्षाका कारण कतिपय ठाउँमा पुग्न कठिन भइरहेको अवस्थामा राज्यका सबै संयन्त्रलाई तीव्र रूपमा परिचालन गरेर बेपत्ताको खोजी र पीडितको उद्धार गर्नुपर्ने विषयमा पुनले जोड दिएका छन्। 

भेटलाई पछिल्लो प्राकृतिक विपद्बीच सरकारको ध्यान प्रभावित क्षेत्रतर्फ केन्द्रित गराउने प्रयासका रूपमा हेरिएको छ। अब रोल्पामा बेपत्ताको खोजी, जोखिममा रहेका परिवारको स्थानान्तरण र प्रभावितलाई राहत पुर्‍याउने काम सरकारका लागि तत्कालीन प्राथमिकता बनेको छ।