जनकपुरधाम । मिटरब्याज तथा अनुचित लेनदेनसम्बन्धी विवादमा धनुषा प्रहरीले पक्राउ गरेका एकै परिवारका तीन जना अब कारागारमै बसेर मुद्दाको सामना गर्ने भएका छन्। धनुषा जिल्ला अदालतले रेखा साह, उनका छोरा हरेराम साह र गोपाल साहलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाउने आदेश दिएको हो।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, ३२ वर्षीय हरेराम साह र ५३ वर्षीय गोपाल साहलाई प्रहरीले गत १ साउनमा पक्राउ गरेको थियो। उनीहरूमाथि अनुचित लेनदेन तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको थियो।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि इजलास नम्बर ११ की न्यायाधीश हिरामाया अवालले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकी हुन्।
यो प्रकरणमा प्रहरीले उनीहरूका गतिविधिसँग सम्बन्धित कागजातसमेत बरामद गरेको जनाएको छ। धनुषा प्रहरीका अनुसार गोपाल साहको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता, ल्यापटपलगायतका सामग्री बरामद भएका छन्।प्रहरीका अनुसार उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता छन्। तीमध्ये हालसम्म ६ वटा मुद्दामा सुनुवाइ भइसकेको छ भने बाँकी मुद्दाको प्रक्रिया जारी छ।
अदालतमा थुनछेक बहस चलिरहेका बेला दुई दिनसम्म मिटरब्याज पीडित र आरोपित पक्षका मानिसहरूले जिल्ला अदालत परिसर अगाडि प्रदर्शनसमेत गरेका थिए। यसले मुद्दा कानुनी प्रक्रियासँगै पक्ष–विपक्षबीचको चर्को विवादका रूपमा समेत देखिएको छ।यस प्रकरणका जाहेरवालामध्ये नेपाल प्रहरीका पूर्वएसएसपी गोविन्दकुमार साहसमेत रहेको बताइएको छ। विदेह नगरपालिका–८ बफैँका साहसहितको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
अदालतको आदेशपछि तीनै जनालाई जलेश्वर कारागार पठाउने प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बताएका छन्।यद्यपि पुर्पक्षका लागि कारागार पठाउने आदेश दोषी ठहर भएको फैसला होइन। उनीहरूमाथिका आरोपको अन्तिम टुंगो मुद्दाको न्यायिक प्रक्रियाबाटै लाग्नेछ।





































