काठमाडौं / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी अब पुरानो शैलीबाट नभई विधि, पद्धति र नयाँ सोचका साथ अघि बढ्ने चरणमा प्रवेश गरेको बताएका छन्।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कांग्रेसले विगतको राजनीतिक अभ्यासभन्दा फरक ढंगले आफूलाई अघि बढाउन खोजिरहेको बताए। उनले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा प्रक्रियामार्फत समाधान गर्दै नयाँ अभियानमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। शर्माले कांग्रेसले परिवर्तनलाई आत्मसात गर्दै युवालाई नेतृत्व र जिम्मेवारीमा अघि बढाउने नीति लिनुपर्ने बताए। पार्टीभित्र पुस्तान्तरण र नयाँ राजनीतिक संस्कारको आवश्यकता रहेको उनको भनाइ थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा काठमाडौं फर्किएपछि कांग्रेसले गरेको स्वागतको प्रसंग उल्लेख गर्दै शर्माले देउवाबाट सबै नेता–कार्यकर्ताको कुरा सुन्ने र पार्टीभित्रको नयाँ परिस्थितिलाई स्वीकार गर्ने अपेक्षा रहेको बताए। देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने तथा युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको भन्दै शर्माले आगामी राष्ट्रिय सम्मेलनमा समेत त्यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। उनका अनुसार कांग्रेस अहिले नेतृत्व, संगठन र कार्यशैलीका विषयमा नयाँ अध्यायमा प्रवेश गरिरहेको छ।
‘कांग्रेस विगतमा भन्दा पृथक ढंगले काम गरिरहेको छ,’ शर्माले भने, ‘यो यथार्थलाई राष्ट्रिय भेलामा सहभागी प्रत्येक साथीले मनन गर्न जरुरी छ।’
शर्माले पार्टीभित्रको बहसलाई गुटगत प्रतिस्पर्धाभन्दा संगठन सुदृढीकरण र राजनीतिक परिवर्तनतर्फ केन्द्रित गर्नुपर्ने धारणा राखे। उनले कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा प्रवेश गरिसकेको दाबीसमेत गरे।




































