काठमाडौं । नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष चर्किरहेका बेला देउवा–शेखर समूहको राष्ट्रिय भेलामा भने वक्ताहरूलाई आफ्नो धारणा राख्न संसद्कै शैलीमा समयको कडा सीमा तोकिएको छ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न अधिकतम ३ मिनेट दिइएको छ। निर्धारित समय पूरा हुनेबित्तिकै संसद्मा जस्तै माइक बन्द हुने आयोजकले स्पष्ट पारेका छन्। कार्यक्रमका उद्घोषक तथा प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएकाले सबैलाई बोल्ने अवसर दिन समय व्यवस्थापन कडाइ गरिएको जानकारी दिएका छन्।

‘लामो भाषण होइन, सबैको आवाज’

भेलामा देशभरबाट उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएकाले लामो भाषणले कार्यक्रम तन्किने अवस्था आउन नदिन आयोजकले यस्तो व्यवस्था गरेका हुन्। तीन मिनेटको सीमाले वक्ताहरूलाई लामो राजनीतिक भाषणभन्दा मुख्य विषय र असन्तुष्टि छोटो तथा स्पष्ट रूपमा राख्नुपर्ने अवस्था सिर्जना गरेको छ।

विशेष महाधिवेशनको वैधानिकता र पार्टी नेतृत्वलाई लिएर कांग्रेसभित्र विवाद चर्किरहेका बेला आयोजित यो भेलामा सहभागी नेताहरूका धारणा राजनीतिक रूपमा समेत अर्थपूर्ण मानिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा डा। शशांक कोइरालाको संयोजकत्वमा भइरहेको भेलामा विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वप्रति असहमति राख्ने नेता–कार्यकर्ता सहभागी छन्।

संसद्को शैलीमा पार्टीभित्रै ‘माइक बन्द’

कांग्रेसको राष्ट्रिय भेलामा लागू गरिएको तीन मिनेटको नियम आफैंमा सामान्य व्यवस्थापनभन्दा रोचक राजनीतिक दृश्य बनेको छ। संसद्मा समय सकिएपछि सांसदको माइक काटिएजस्तै अब कांग्रेसको यो भेलामा पनि नेताको समय सकिएपछि आवाज रोकिनेछ।

पार्टीभित्र नेतृत्व र वैधानिकताको विवाद चर्किएका बेला आयोजित भेलामा यस्तो कडा समयसीमा लागू हुनुले आयोजकहरू कार्यक्रमलाई अनुशासित र प्रभावकारी बनाउने तयारीमा रहेको देखाएको छ।

तर तीन मिनेटको माइकले कांग्रेसभित्रको लामो विवादलाई कति छोट्याउँछ भन्ने प्रश्न भने राजनीतिक वृत्तमा थप रोचक बनेको छ।