काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद अब बैठक र बहसभन्दा माथि उठेर समानान्तर शक्ति प्रदर्शनको चरणमा प्रवेश गरेको छ। शुक्रबार राजधानीमा कांग्रेसका दुई समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे—मिराकल पार्टी प्यालेसमा देउवा–शेखर पक्षको राष्ट्रिय भेला र सानेपामा सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक।
मिराकलमा भेला भएका देउवा–शेखर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको संरचनालाई स्वीकार नगरेको सन्देश दिएको छ। राष्ट्रिय भेलाको नेतृत्व डा.शशांक कोइरालाले गरेका छन् भने निवर्तमान सभापति शेरबहादुर देउवाले समेत भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई नयाँ जिम्मेवारीअनुसार सम्बोधन नगरी १४औँ महाधिवेशनबाट प्राप्त पुरानै हैसियत प्रयोग गरिएको छ। यसलाई गगन नेतृत्वको वर्तमान संरचनाप्रतिको प्रत्यक्ष राजनीतिक अस्वीकारका रूपमा हेरिएको छ।
उता, सानेपामा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको संस्थागत गतिविधिलाई निरन्तरता दिएको छ। देउवा–शेखर समूहले अस्वीकार गरिरहेको नेतृत्वले पार्टी कार्यालयमै बैठक राखेर आफ्नो वैधानिक र राजनीतिक हैसियत प्रस्तुत गरेको हो।
अदालतको ढोका खुलेपछि सडकमा शक्ति प्रदर्शन
कांग्रेसको यो टकरावको पृष्ठभूमिमा विशेष महाधिवेशनको वैधानिकतालाई लिएर जारी कानुनी विवाद पनि जोडिएको छ। यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन नेतृत्वको संरचनाले मान्यता पाएको भए पनि सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि विवाद फेरि कानुनी मोडमा पुगेको छ।
यही समयमा देउवा-शेखर पक्षको राष्ट्रिय भेला हुनु र गगन पक्षको केन्द्रीय समिति बैठक समानान्तर रूपमा चल्नुले कांग्रेसको विवाद अदालतदेखि संगठनको मैदानसम्म फैलिएको संकेत दिएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने विवादलाई अदालतमा मात्र सीमित नराखी संवाद र सहमतिबाट समाधान गर्नुपर्ने धारणा राखेका छन्। उनले ‘जित-हार’को मानसिकता त्यागेर पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ लैजानुपर्ने बताएका छन्। शर्माले गगन थापालाई आगामी राष्ट्रिय अधिवेशनबाट ७१ प्रतिशत मतसहित सभापति बनाउने दाबीसमेत गरेका छन्।
एउटै पार्टी, दुई गतिविधि-अब निर्णायक मोड कता ?
शुक्रबारको दृश्यले कांग्रेसभित्रको संघर्ष केवल नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा सीमित नरहेको देखाएको छ। एक पक्ष पुरानो संरचनाको निरन्तरता दाबी गरिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई संस्थागत बनाउने प्रयासमा छ।
त्यसैले मिराकल र सानेपामा भएका समानान्तर गतिविधि कांग्रेसभित्रको शक्ति संघर्षको सामान्य कार्यक्रमभन्दा पनि आगामी महाधिवेशन, नेतृत्वको वैधानिकता र पार्टीको भविष्यको संरचनाबारे निर्णायक टकरावको संकेतका रूपमा देखिएका छन्।
अब कांग्रेसको नजर दुई ठाउँमा छ-अदालतको फैसला र संगठनभित्रको शक्ति परीक्षण। यी दुईमध्ये कुन बाटोले अन्तिम नेतृत्वको तस्वीर तय गर्छ, त्यसले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।






































