काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। शुक्रबार नेप्से ७.३७ अंक घटेर २६४३।८३ अंकमा झरेको हो।
सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बजारमा १ सय ६४ कम्पनीको मूल्य घट्दा १ सय १ कम्पनीको बढेको छ भने १२ कम्पनी स्थिर रहे। समूहगत रूपमा अधिकांश सूचक राताम्मे भए पनि जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र अन्य समूहमा भने सामान्य सुधार देखियो।
हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। रकमका आधारमा खानीखोला हाइड्रो लगायतका कम्पनीमा उच्च कारोबार हुँदा कृषि विकास बैंक बन्डमा सबैभन्दा ठूलो रकमको कारोबार भएको नेप्सेले जनाएको छ।
समग्रमा, सूचकमा दबाब देखिए पनि ४ अर्बभन्दा बढीको कारोबारले बजारमा लगानीकर्ताको गतिविधि भने कमजोर नभएको संकेत गरेको छ।






































