काठमाडौं / मुगुको खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण देखाउने तथा बचत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएको छ।
पीडितहरूका अनुसार शाखाबाट करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ। आरोपअनुसार शाखाका ९८ जना बचतकर्ताको नाममा उनीहरूलाई जानकारी नै नदिई ऋण देखाइएको छ। मुद्दति तथा व्यक्तिगत बचत खाताबाट रकम निकालिएको र संस्थामा आबद्ध नभएका व्यक्तिको नाममा समेत ऋण प्रविष्टि गरिएको पीडितहरूको भनाइ छ।
पीडितहरूको जाहेरीका आधारमा शाखाका कर्मचारी गणेश चौलागाईं, तुलसी शाही र टीकाप्रसाद जैसीविरुद्ध बैंकिङ कसुर तथा सजायसम्बन्धी मुद्दा उच्च अदालत सुर्खेतमा दर्ता भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले पीडितहरूको बयान जिल्ला अदालत मुगुबाट श्रव्यदृश्य माध्यममार्फत लिने व्यवस्था गरिएको छ। आरोपितहरूलाई अदालतले धरौटीमा रिहा गर्दै तारेखमा राख्ने आदेश दिएको छ।
पीडितहरूले आफूहरूले कुनै ऋण नलिएको अवस्थामा ऋणी बनाइएको, किस्ता तिरेको विवरणसमेत कीर्ते रूपमा तयार गरिएको तथा बचत खाताको रकमसमेत अनधिकृत रूपमा निकालिएको आरोप लगाएका छन्। कतिपयले आफ्नो मुद्दति खाता बन्द भइसकेको जानकारी रकम झिक्न जाँदा मात्रै पाएको बताएका छन्।
अनियमितताको अनुसन्धान र न्यायिक प्रक्रियामा सहभागी हुन जिल्ला सदरमुकामसम्म पटक–पटक पुग्नुपर्दा आफूहरूले थप आर्थिक भार व्यहोर्नुपरेको पीडितहरूको गुनासो छ। यातायात खर्च, बसोबास र खेतीपातीको समयमा काम प्रभावित हुँदा समस्या झन् बढेको उनीहरूको भनाइ छ। श्रव्यदृश्य माध्यमबाट बयान दिने व्यवस्था भएपछि केही राहत मिले पनि बकपत्र प्रक्रिया अझै छिटो र सहज बनाउनुपर्ने माग पीडितहरूले गरेका छन्।
उनीहरूका अनुसार एउटै व्यक्तिको बयान लिन लामो समय लाग्ने भएकाले प्रक्रिया प्रभावकारी बनाउन आवश्यक छ। मुद्दा अदालतमा विचाराधीन रहेकाले आरोपको अन्तिम टुंगो न्यायिक निर्णयपछि लाग्नेछ। तर एकै शाखाका ठूलो संख्यामा बचतकर्ताको नाममा ऋण र बचतसम्बन्धी अनियमितताको आरोप सार्वजनिक भएपछि लघुवित्त संस्थाको आन्तरिक नियन्त्रण, बचतकर्ताको रकमको सुरक्षा तथा अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।






































