काठमाडौं / निर्माण क्षेत्रको सुस्त गतिविधि र बजारमा सिमेन्टको माग घट्दा शिवम् सिमेन्ट लिमिटेडको व्यापारमा असर परेको छ।
आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र नाफा दुवैमा सामान्य गिरावट देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो। बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो। यद्यपि कम्पनीले अन्य आम्दानीबाट १३ करोड ३२ लाख रुपैयाँ प्राप्त गरेको र सञ्चालन खर्च घटाएकाले नाफामा ठूलो दबाब पर्न पाएन। कम्पनीले सञ्चालन खर्च ९३ करोड १६ लाख रुपैयाँबाट घटाएर ८० करोड ८१ लाख रुपैयाँमा झारेको छ।
खर्च व्यवस्थापनका कारण बिक्रीमा आएको गिरावटको प्रभावलाई केही हदसम्म सन्तुलन गर्न कम्पनी सफल भएको देखिन्छ।वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० १४ रुपैयाँ ०३ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा तथा तरलता अनुपात १.६४ गुणा रहेको छ। कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ र चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेकाले कम्पनीको अल्पकालीन वित्तीय अवस्था सन्तोषजनक देखिएको छ।
निर्माण तथा पूर्वाधार क्षेत्रमा गतिविधि पुनः बढ्न सके सिमेन्टको मागमा सुधार आउने र त्यसले आगामी अवधिमा कम्पनीको व्यापार तथा वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।






































