काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता, कार्यकर्ता तथा सांसदहरूलाई सिंहदरबार र विभिन्न मन्त्रालयहरूमा अनावश्यक रूपमा भिडभाड नगर्न कडा निर्देशन जारी गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारी कामकाजलाई प्रभावित पार्ने गरी मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयमा नेताहरूको आउजाउलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, अनावश्यक रूपमा सिंहदरबार धाउने प्रवृत्तिको सट्टा जनताका गुनासा र समस्या सुन्नका लागि नयाँ व्यवस्था लागू गरिएको छ ।
यस निर्णय अनुसार, अबदेखि जनसम्पर्कका लागि पार्टीको केन्द्रीय कार्यालय चम्पादेवी (घण्टीघर) मा दैनिक एक जना सांसद र एक जना केन्द्रीय सदस्य अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ । नागरिकहरूलाई आफ्ना प्रतिनिधिहरू भेट्न सहज होस् र सिंहदरबारमा हुने भिडभाड कम होस् भन्ने उद्देश्यले यो तालिका मिलाइएको हो ।
रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई मन्त्रालयमा धाउनु भन्दा जनताको प्रत्यक्ष सम्पर्कमा रहेर समस्या समाधान गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अनुशासन कायम गर्न यो कदम चालेको जनाएको छ ।






































