काठमाडौं— गगनकुमार थापा ले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गरेका छन्। उनले सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटको लिखित जवाफमा विशेष महाधिवेशन कानुन र पार्टी विधानअनुसार नै सम्पन्न भएको स्पष्ट पारेका हुन्।
थापाका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको कार्यकाल समाप्त भएपछि उत्पन्न परिस्थितिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन बोलाइएको हो। उनले पटक–पटक कार्यकाल थप्दै जानु विधानको मर्मविपरीत हुने तर्कसमेत गरेका छन्।
उनले कांग्रेस विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने व्यवस्था भएकाले महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैध भन्न नमिल्ने जिकिर गरेका छन्। थापाले विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको प्रक्रिया पनि कानुनअनुसार नै निर्वाचन आयोगमा अद्यावधिक भएको दाबी गर्दै यसलाई चुनौती दिनुपर्ने आधार नरहेको उल्लेख गरेका छन्।





































