काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले दिएको राजीनामा हतारो वा दबाबमा नभई पूर्ण जवाफदेहीतालाई ध्यानमा राखेर भएको स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापत थापाले निर्वाचनलगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले रोकिएको र निर्णय प्रक्रिया विधानअनुसार अघि बढेको बताए
सभापति थापाले भने, ‘जसले निर्वाचनमा भोट माग्नुभएन वा मतदानमा संलग्न हुनुभएन, उहाँहरूलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने कुरा थियो। जो साथीले चुनावमा खटिए, उहाँहरूको सुझाव मेरो लागि शिरोधार्य भयो।’
थापाले आफ्नो निर्णय व्यक्तिगत दबाब वा ग्लानीको नतिजा नभई, पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा समक्ष पेश गरिएको बताए। उनले भने, ‘मैले कुनै हतारोमा राजीनामा दिएको छैन, न हतास भएर दिएको होइन। यो मेरो जवाफदेहीताभित्रको निर्णय हो।’
केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै ६ बुँदे निर्णय गरेको थियो। बैठकमा १५औँ महाधिवेशनको तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, प्रदेशस्तरीय निर्वाचन समीक्षा, स्थानीय सरकारको प्रभावकारी सञ्चालन र पार्टीको जनसम्पर्क रणनीति जस्ता विषयमा छलफल भएको छ।






































