काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी थालेको छ । आज आइतबार धुम्बाराहीमा बसेको देउवा पक्षको बैठकले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बोलाउने निर्णय गरेको हो ।
आज काठमाडौंमा उपलब्ध नेताहरुको बैठक बसेको हो । अब छिट्टै सबैजना सहभागी हुने गरी बैठक बस्ने जनाइएको छ । कार्यवाहक उपसभापतिले बैठकको समय र स्थान टुङ्गो लगाउने जनाइएको छ ।
बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गरिने जनाइएको छ । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप उत्कर्षमा पुर्याएको छ ।
पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा। शेखर कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ । थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रवारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो ।






































