काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठन खारेज गर्ने कुनै पनि प्रयास नगर्न आगामी सरकारलाई चेतावनी दिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले पछिल्ला दिनमा विद्यार्थी संगठन हटाउने विषयमा ‘मिडिया ट्रायल’ भइरहेको उल्लेख गर्दै यस्तो कदम चालिए कडा प्रतिवाद हुने बताएका हुन्।

उनले विद्यार्थी संगठनलाई स्वेच्छिक र नेतृत्व विकास गर्ने प्लेटफर्मका रूपमा व्याख्या गर्दै यसको भूमिकालाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। शेर्पाका अनुसार विद्यार्थी आन्दोलनकै कारण अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको र युवाहरूले आफ्ना विचार सार्वजनिक गर्न पाएको दाबी गरे।

उनले नयाँ नेतृत्वतर्फ संकेत गर्दै बालेन्द्र साह र रवि लामिछानेलाई लक्षित गरी विद्यार्थी संगठनको महत्व नबुझी निर्णय नगर्न आग्रह गरे। त्यस्ता संगठन खारेज गर्ने प्रयास ‘आगोको गोलामा हात हाल्नुजस्तै’ हुने चेतावनी उनले दिए।

अध्यक्ष शेर्पाले नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दीका कारण प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको दाबी पनि गरे।