काठमाडौं— सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ जना नेपाली नागरिक पक्राउ परेका छन्।

इजरायल–अमेरिका र इरानबीचको तनाव बढेसँगै इरानले यूएईतर्फ मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको बताइएको छ। यस्ता आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका तस्बिर र भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले यसअघि नै यस्ता संवेदनशील सामग्री खिच्न वा सामाजिक सञ्जालमा पोस्ट नगर्न सबैलाई आग्रह गर्दै आएको छ।

पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जनाउँदै दोषी ठहर भएमा एक वर्षसम्म कैद सजाय हुनसक्ने र त्यसपछि देश निकाला (डिपोर्ट) गरिने प्रावधान रहेको बताइएको छ। साथै, अधिकतम १ लाख यूएई दिरामसम्म जरिवाना पनि लाग्न सक्ने व्यवस्था छ।