काठानडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रुकेश रन्जित विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत ,नेकपा (एमाले) का सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्काले दुई हजार ४७२ मत र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिराम लबजुले एक हजार १७७ मत ल्याएका छन् ।
भक्तपुर–१ लामो समयदेखि नेमकिपाको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो । यसअघि २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रेम सुवाल निर्वाचित भएका थिए । त्यस्तै २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए ।
तर यसपटक भने रास्वपाका रुकेश रन्जितले विजय हासिल गर्दै २०४८ सालयता कायम रहेको नेमकिपाको जितको श्रृंखला तोडेका छन् ।






































