काठमाडौं –  निर्वाचन आयोगमा हालसम्म ४३ वटा राजनीतिक दलले मात्रै आफ्नो चुनावी घोषणापत्र पेश गरेका छन्। आयोगको राजनीतिक शाखाका अनुसार तोकिएको समयभित्र यति मात्र दलले घोषणापत्र बुझाएका हुन्।

आयोगले दलहरूलाई घोषणापत्र सार्वजनिक गरी आयोगमा दर्ता गरिसकेपछि मात्र चुनावी प्रचारप्रसारमा जान निर्देशन दिएको थियो। यस वर्ष फागुन ४ गतेदेखि प्रचारप्रसारको अवधि सुरु गरिएको छ।

निर्वाचन आचारसंहितामा दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रत्येक वर्ष सो सम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने उल्लेख छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१ वटा चुनाव चिह्नमार्फत ६५ राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन्।