भादगाउँ। चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ ।
स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन् ।
ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् । यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्यापति थापा बताउनुहुन्छ । विशेष गरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ । हलालगाउँको भ्रमण गर्ने पनि बढेका छन् ।
उक्त स्थानमा निर्मित हलालगाउँ–ताथली गढीको सिँढीले पनि पर्यटकलाई आकर्षित गरेको चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यात बताउनुहुन्छ ।
गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न पनि आन्तरिक पर्यटक आउने गरेका उहाँ बताउनुहुन्छ । त्यहाँका ३०० सिँढीले पनि पर्यटक तानिरहेका उहाँको कथन छ । उक्त स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी उल्लेख गर्दै करिब थप सौन्दर्य बढाएको बताउनुभयो ।
आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार सुधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन् । दृश्यावलोकनका निम्ति ‘भ्यू टावर’ पनि निर्माण भइरहेको छ । गढी क्षेत्रको दिगो विकासका लागि गुरूयोजना तयार भएको वडाध्यक्ष त्यातको कथन छ ।






































